भैरव अर्याल (हाँस्य-व्यंग्य)



            भैरव अर्यालका केहि हाँस्य-व्यंग्य कृती
                            भान्सा भो हजुर ?”

भान्सा भो हजुर ?”

आँखामा सूर्यदेवको झुल्को पर्न नपाउँदै कानमा सूर्जे साहूको आवाज गुञ्जिन आइपुग्छ । निद्रा भट्टीवाल्नी कान्छीझैँ हत्त न पत्त घैँटो लुकाउँदै जीउ टकटक्याउँछेसपनाहरु पुलिसको आवाज सुनेका जुवाडेहरुझैँ कोही खाटमुनि लुक्छन्कोही झ्यालबाट हामफाल्छन् । पिलिक्क आँखा उघार्दा मिलिक्क उही बूढो साहू महिना सुनाउन आएका बाजेझैँ बिपना सुनाउन भित्र पस्छ ।
झोकको झन्झावातमा मगज यस्तरी झन्झनाउँछ कि जुरुक्क उठेर साहूजीका चाउरीएका गालामा चडयामचडयाम हिर्काउँदै जबाफ दिऊँ- कौवाले समेत जलपान नगर्दै तेरा बाबुले भान्सा गर्छ लट्‌ठू !’ तर बोल्न नपाउँदै केटाकेटीनै उसलाई उल्याउन थाल्छन् । म आफ्नो झोक तकियामै बिसाएर सिरकले गुम्लुङ्ग मुख छोपी आफू नब्यूँझेको बहाना गर्छु । किनभने एकैछिनको ध्यानदृष्टिले मलाई यो तथ्य पत्ता लगाउन गाह्रो पर्दैन- साहू अहिले भान्सा भएको-नभएको सोध्न आएको किमार्थ होइनऊ त अघिल्लै महिना भान्सा गरेको एक मुरी चामलको उधारो उठाउने उद्देश्यले मलाई ओछयानैमा उठाउन आइपुगेको हो । त्यसैले देशको एउटै प्रश्नबाट नेताहरुले बेग्लाबेग्लै अर्थ झिकेझैँ साहूजीले एकाबिहानै सोध्न आएको भान्सा गर्नुभो भित्र धेरैधेरै अर्थ लुकेको मैले पाएँ । पहिलो त हो- उसले कति दिन मेरा भान्सा चलाइदिएको थियो । ऊजस्तो अन्नदाता साहूकहाँ मुखै नदेखाई अचेल म कसरी भान्सा गर्छु न हिजोअस्ति मेरो परिवारले भान्सै गरेको छैन कि म एउटा जागिरजीवी अधिकृतपसलेको उधारै नखाई महिनाभर भान्सा गर्न-गराउन सक्छु र ? उसको सोधाइको अझ सबभन्दा चुरो अर्थ के होला भने आफूले उधारो भान्सा गरेबापत उसलाई तिर्नुपर्ने रुपियाँ यतिन्जेल नतिरेकोले त्यसको पनि मैले भान्सा गरिदिएँ कि ?उधारो खाने पनि कुनै निश्चित समय र स्थान हुन्छ र ?उधारो, रीनघूसकमिसननाफानजराना भन्ने कुरा कौवाको बच्चाले जलपान नगर्दै खाए पनि हुन्छ रेलाटाकोसेराका बच्चाले न्यासध्यान नगर्दै सिद्‌ध्याए पनि हुन्छ रे । यसरी रहस्य उघार्दै जाँदा उसले एकाबिहानै भान्साको प्रश्न उठाएबापत उठेको झोक नशाले छाडेपछिको आत्मज्ञानझैँ आत्मग्लानिमा परिणत हुन्छ । म सिरकभित्र दुम्सीले झैँ जीउ खुम्च्याएर दम्पच पारी आफूलाई लुकाउन खोज्छुतर हिजो बेलुका गरेको काँचोकचिलो भान्साले भुँडीभित्रैबाट ध्वालालल्ल गरी शौचालयको निम्ता दिन्छ ।

भान्साको कुरा गर्दागर्दै शौचालयको कुरा झिक्ता तपाईंलाई अलि बीभत्सताको गन्ध आउला, वास्तवमा यी दुईको सम्बन्ध टिप्पणी र आदेशको सम्बन्धजस्तै घनिष्ठ छ । भान्सा एउटा टिप्पणी हो भने शौच एउटा आदेश हो । दार्शनिक भाषामा भान्सा भोगभूमि हो भने शौचालय त्यागतीर्थ हो । साँच्चै भनूँ भने आजको जटिल त व्यस्त जीवनमा शौचालयजस्तो आनन्दी ठाउँ अर्को कुनै छैनकारण यहाँ उधारो उठाउन आएको साहूले मात्र होइनउधारो खान बाध्य गराउने केटाकेटीकी माउले पनि झिँजोल्न पाउन्न । कमसेकम एकान्त साधना र आत्मचिन्तनको एउटा शान्त आश्रम शौचालय नै हो । त्यसैले म आश्रमभित्र पसी आत्मलीन हुँदै चिन्तन गर्न थाल्छु- मानौँ मलाई भान्सा गर्नुको अर्थबोध हुन लाग्छ ।

भान्सा गर्नु भनेको खानु हो । खानु भनेको कुनै पदार्थलाई मुखद्‍वारबाट प्रवेश गराई आन्द्रेमार्गद्वारा भुँडीभण्डारसम्म पुर्‍याउनु हो । तर खानुसित बढी मोह भएर हो कि खानुको समस्याले बढी सताएर हो नेपालीहरुले यसको अर्थविस्तार यस्तरी गरेका छन् कि तन्काउनु र सुर्क्याउनुलाई पनि खानु नै भनिदिन्छन् । उदाहरणको लागि हामी चुरोट पनि खान्छौँ । चिया पनि खान्छौँ । पाए रम पनि खान्छौँनपाए गम पनि खान्छौँ । तर अरु खानुसित त्यति चासो हुँदैनहाम्रो खास खानु भात खानु हो । त्यसैले साँझबिहान टुप्लुक्क कोही आइपुग्यो भने ढोगभेटपछिको दोस्रो प्रश्न हुन्छ- भात खानुभो ?’

भात खानु भनेको ज्यूनार गर्नुभोजन गर्नुभान्सा गर्नुहसुर्नु,घिच्नु र धोकय्राउनु पनि हो । धनधान मानसानले ज्वाज्वल्यमान मानिसहरु ज्यूनार गर्छन्हलो जोतेर खानुपर्ने परिश्रमीहरु सायद हसुर्छन्धोक्रो बोकेर ज्याला कमाउनेहरु सायद धोक्य्राउँछन् र साह्रै हिन्नेती ठहरिएका वा रिस उठेका मान्छेहरु घिच्छन् । कमसेकम आफूलाई सन्तोष के छ भने हिजो बेलुका पानेरोटी धोक्य्राएको भए पनिसुक्खा रोटी टोकेको भए पनि रिसाएको साहूले कमसेकम यसरी त सोधिदिएन-घिच्यो बाज्या धोक्य्रो साहेब हसुर्नुभो हजुर ?’

अर्थ उही भए पनि ज्यूनार गर्नुभान्सा गर्नुभात खानु र घिच्नुको ध्वनिमा ठूलो अन्तर छ । ज्यूनार भन्नेबित्तिकै चौरासी व्यञ्जनका दर्जनौँ-दर्जन रिकापीहरु वरिपरि सजाएर बडेमानको थालमा घिउ चुहिने दुई पन्यूँ मसिनाको मसलादार भुजा पस्किएर चम्चाले एकपछि अर्को रिकापी चहारेको दृश्य ध्वनित हुन्छ । भान्सा गर्नु भन्दा कमसेकम दालभात तरकारीको साथै ट्वाक्क एक थोक अचारचार चौटा मासु या एक गिलास दुध र एक-दुईओटा फलफूलको बास्ना आउँछ । भोजन गर्नु भन्दा निम्तालु बाहुन वा जोगी वा ज्वाइँभानिजले निमन्त्रकको घरमा कुनै धार्मिक चाडपर्वमा दक्षोणासमेत लिई खीरमालपुवा वा इक टपरी दहीभात बजाएको बुझिन्छ । भात खानु मात्र भन्दा सिलाबरको वा पित्ले थालमा पस्केर रातोरतो चपरी भात केही न केही एक थोक तरल तिहुनसित मुछेर गाँस हाल्नु भन्ने बुझिन्छ । अधिकांश भद्रभलादमीकहाँ भात खाँदा फलफूलको त कुरै छाडौँ दालतरकारीको पनि नियमित प्रबन्ध हुँदैनकेवल भात खाए पुग्छ । यसैले प्राय: दालतरकारी खाएनखाएतिर वास्तै नराखी हामी सोध्ने गर्छौँ- भात खायौ ?’ त्यही भात पनि उसिनाको पर्‍यो वा चामलको कायममुकायम मकैकोदोफापर या चनाले गराउनुपर्‍यो र जिभ्रामा अड्काईअड्काई निल्नुपर्‍यो भने त्यसलाई घिचेको भन्नमा कुनै आपत्ति छैन । कति जनालाई रिस उठाएर वा कतिदेखि रिसाएर गर्नुपर्ने हामीजस्ताको पेट भर्ने क्रियालाई भान्सा गर्नुभो ?’ भनी सोध्नुसट्टा घिच्नुभो?’ भनी सोधे स्वाभाविकै ठहरिएला कि भन्ने मलाई लाग्छ ।

, शौचालयमा यति ज्ञान हासिल गरी जब म बाहिर निस्कन्छु,साहूजी गनगनाइरहेको सुनिन्छ- हजुरहरुले यस्तो गरिदिएपछि हामीले के खाने ए ?” भनिदिऊँ जस्तो लाग्छ- तिमीले नाफा खाने हामीले उधारो खाने’, तर त्यसो नभनी म उसलाई आश्वासन दिन्छु- तिम्रो पैसा हामी खाँदैनौँ साहूजी ! अहिले केही दिन कम्पनीको हालत खराब भएकोले तलब आएको छैन,आउनेबित्तिकै पुर्‍याउन पठाउँला !” मेरो भद्र आश्वासनले साहूजी त आश्वस्त भएर जान्छ । तर भान्सा विभागकी अध्यक्षा श्रीमती देवीको लम्बे टिप्पणी आदेशार्थ प्रस्तुत हुन्छ- चामल,चिनीचनाचम्सुररातो माटोमट्टीतेलहिङहलेदोहिसाबको कापीसाबुन, साबदानास्टोभको वासर र सल्फागुनाइडिन । अफिसको मागफारम हुँदो हो त म त्यसलाई यस्तरी फाइलमा कोचिदिन्थेँ कि एक महिनापछि खोज्दाखोज्नै फेरि एक महिना लागोस् ! तर माग पर्‍यो बूढीकैसार्दाम पर्‍यो भुँडीकै । जहानको समस्या पनि जनताको समस्याजस्तो टारेर टर्ने हो र न आश्वासनले टर्छन भाषणलेन योजना बनाएर टङ्गारिन्छन अभियान चलाएर । मैले त तुरुन्तै आदेश मात्रै दिएर पुग्दैन,निकासा नै दिनुपर्छ नत्र एकछिनपछि भात पाक्यो ?’ भनी सोध्ने अधिकार पनि मेरो हुने छैनमलाई भान्सा गर्नुभो’ भनी सोध्ने कर्तव्य पनि कसैको बाँकी रहने छैन । त्यसैले गिजाबाट टुथपेस्टको गाँज निकाल्दै म सम्झन थाल्छु- यस महिनामा उधारो नलिएको परिचित पसले कुनै बाँकी छ कि या सापट नलिएको कुनै साथी वा सज्जन बाँकी छन् कि तर तुरुन्तै सम्झनामा कोही पनि चढ्दैन । बरु यसपालि बत्ती धेरै चढेछ- छोरो भन्छ । पानी धेरै चढेछ- छोरी भन्छे । म पनि निकै चढेको छु भनी टेलिफोनले घण्टी ठोक्छ- टिन्न ।

आधुनिक जीवनमा घण्टीको पनि घनिष्ठता छ भन्ने कुरा मान्नै पर्‍यो । प्रसूतिगृहमा आमाको गर्भबाट जब म खुत्रुक्क ओर्लेथेँ,नर्स दिदीले टिङ्‌रिङ्ग घण्टी बजाई मेरो धरावतरणको सलामी दिइथिन् रे ! त्यसैले स्कूल-कलेजदेखि घर-अफिससम्म नाना थरीको घण्टीले मलाई छाडेको छैन । बेला न कुबेलाको यो घण्टीदेखि यति झोक चल्छ कि उठाउँदै नउठाइदिऊँ तर कुनै भाग्यविधाताको घण्टी रहेछ भने के गर्ने त्यसैले उठाउँछु- भान्जीमैयाँको मधुर स्वर गुञ्जिन्छ- उहाँ हजुरको मामालाई नभेटी नहुने छ रे । दिउँसो भेट हुँदैन भनेर हामी अहिले तीँखाने गरी आउँदै छौँमाइजूलाई भनिदिनुहोला- उहाँ हजुर तेलमा बनाको कुरा ज्यूनार हुन्न !” आफैँलाई सुन्न धौधौ परेको सन्देश माइजूचाहिँलाई कसरी सुनाइदिने ? त्यसैले म रिसिभरको साथै कुरो बटारेर उतैतिर फर्काइदिन्छु- होइन नानी, त्यस्तो जरुरी भए उहाँ हजुरलाई किन दु:ख ! मेरो अहिले त्यतैपट्टि आउने काम छमाइजू पनि भेट्नु छ भन्थीभान्सा त्यहीँ ठीक गर्नू । तिम्रो मामालाई तेलमा बनाएको मात्रै होइनमट्टीतेलमा बनाएको पनि मिठो लाग्छ भनी बज्यैलाई सुनाइदिनू ।” भान्जीमैयाँ खिलखिलाउँदै टेलिफोन राख्छिन् । एक जोर पाहुना हटाउनुको साथै भान्जीकहाँ एक छाक भान्सा चुलेनिम्तो माग्ने नकच्चर्र्‍याइँमा आफू सफल भएकोमा मलाई टीएडीएसहितको विदेशभ्रमणको निम्तो माग्न सफल भएजस्तै खुसी लाग्यो ।

यही खुसीमा आरामकुर्सीमा बसी म मग्नसँग कोसेली फुक्न थालेँ । एकाएक एक जना बाजे चोकमा ठिङ्ग उभिएर ङ्याउरे स्वरमा पाती पढ्न थाले- आब्रह्मन् ब्राह्मणो-ब्रह्मवर्च....’ त्यसको मूल अर्थ न उनले बुझेका होलान्न मैले बुझेको छुतर भावर्थ भने भात खानु हो । यो हाम्रा केटाकेटी र आइमाई सबैले बुझेका छन् । त्यसैले उनीहरुले चुपचाप लागी एक मुठी भात बनाउने गेडा झोलीमा थपिदिइहाले । बाजे हिँड्न नपाउँदै अर्को अवतार चोकमा अवतरित भयोत्यो अवतार थियो- दही दाजुको । दुई हातमा बडेबडे घैँटा झुन्डयाएकोबीचमा घ्याम्पिएको गाँठाले सकिनसकी हिँड्नुपर्ने दहीदाजु टोलभरिको परिचित विदूषकजस्तो थियो । झ्यालमुनि घैँटा बिसाउँदै मलाई नमस्कार गरेर उसले सविनय निवेदन गर्‍यो– “तीन बिस ११ बर्ष खाइहालियोअब दुई-चार वर्ष खानलाई पर्नु हम्मे पर्‍यो हजुर !” सुनेको नसुन्यै गरी उसको खानुको समस्या र आफ्नो खानुको समस्या जोर्न थाल्छु,केटाकेटीहरु उसलाई ठग बूढोहन्डे बूढो, घ्याम्पे बुढो’ भन्दै गिज्याउँछन् । दहीमा च्याउ मिलाएर लयाउँछ’ भन्छन् । तर ऊ यस्ता टिकाटिप्पणीको कुनै वास्ता गर्दैनन गिज्याइको वास्ता गर्छन खिज्याइको । खानको लागि यस्ता उपेक्षा र अपमानहरु पहिल्यै पचाउनुपर्छ भन्ने उसको जीवनदर्शन ७० बर्षदेखिको अनुभवमा खारिएको दर्शन हो । सामान्य रुपमा दही चाहिँदैन बूढाबा’ भन्यो भने एकपल्ट राम्रै भाषण गर्छ- आज एकादशी,भोलि आइतबारयो दही अघिपछिको जस्तो होइनखावा दूधको दहीखावा दूधको । धेरैजसो ऊ जित्छ हामी हार्छौँ र दही किन्छौँ । थोरैजसो ऊ हार्छ- रन्कन्छ, फन्कन्छ फेरि अर्को दिन टुपलुक्क आइपुग्छ ।

दहीदाजुको प्रस्थानपछि दूधमैयाँ आइपुग्छे- एउटा फूलो परेको आँखो मतिर चढाएर निकै लजाएझैँ भित्र पस्छे र पहिल्यै आफ्नो महत्व गाउँछे- आमालाई जाऊँ न भनेको, तँ गए मालिकहरु खुसाउँछन्धेरै दूध किन्छन् भन्छिन् । हुन पनि क्या बज्यै, उ: त्यो टोलमा बस्ने देशीसाहेब छ निआमाले लगेको बेला आधा माना दूध लिन्छम गएको बेला दुई माना लिन्छ र दूध ल्याएको ज्याला भनेर एक सुका पैसा बढ्ता पनि दिन्छ ।दूधवाल्नी बूढीको भान्सा गर्ने बेलामा तरुनी छोरीको कति मद्दत रहेछ भन्ने बुझ्न मलाई गाह्रो पर्दैन । तर चुरोट बेस्कन तान्नेसिवाय अरु केही बोल्दिनँ । दूधमैयाँ झ्यालमुनिबाट फेरि एक नजर मास्तिर चढाई लचकदार पैतला चाल्छे- म हेरिरहन्छु,हेरिरहन्छु । हेर्दाहेर्दै धूवाँको प्रवाहसित सम्झना-प्रवाह पाँज्जिन्छ- एउटा सेतो मुसो खोरमा पालेर ज्योतिष हेर्न टुँडिखेलको छेउमा बसेको पिलन्धरे युवकबियरका थोत्रा टिन दुई-चारोटा बटुली सुकेनासले खाएको छोरालाई झुम्रे स्तन चुसाउँदै बेच्न बसेकी पसल्नीबागेश्वरीको जलप्रसाद बाँड्न दिनहुँ अफिसअफिसमा चहार्ने बहिरा बागेश्वर पण्डितदिनभरि होटेलको कप पखालेर साँझ चिउरा, तरकारी चोरी स्वास्नी-छोराछोरीलाई चारा लैजाने होटेलब्वायछेपारा बटुलेर उसिनी हरेक रोगको औषधि भन्दै दिनभर चिच्याउँदै हिड्ने मुसहर सबै उही भान्सा भगवतीका उपासक हुन् । यस्ता प्रत्येक उपासकलाई दिनहुँ भेटेर कसले सोधिदिने- भान्सा भो हजुर ?” बरु नेपथ्यबाट आफैँ फेरि सोधिन्छु- भान्सा भो बाबू ?” मुन्टो बटार्दा जुम्लुङ्ग उनै ठाहिँला बाजेका छोरा उपस्थित देखिन्छन् । म नमस्कार र प्रश्न दुवै फर्काउँदै सोध्छु- तपाईंको भान्सा भयो नि ?” पढेगुनेका नभए पनि ५२ हन्डर ५३ ठक्कर खाएका ठाहिँला बाजेका छोरा भन्छन्- भान्सा गर्न सकेको भए म बिहानबिहान बाबूलाई झिँजोलेर कतै बहिदार खाली भो कि भनी किन धाइरहन्थेँ बाबू !” अनि उनि भान्सा गर्नुको लामो कथा हाल्दै आँखाभरि आँसु पारेर भन्छन्- हाम्रो मूल व्यथा नै भान्सा गर्नुको व्यथा हो बाबू ! त्यसैले जो पायो उहीसँग भान्सा गरेको-नगरेको नसोध्नु नै राम्रो बाबूनसोध्नु नै राम्रो !” त्यहाँदेखि मलाई पनि त्यस्तै लाग्छ-
नसोध्नु नै राम्रो !



                                                               पशु – पशुपति र मान्छे
साँढेको नेतृत्वमा गएको पशूहरुको प्रतिनिधिमण्डलले एक दिन बिहानै पशुपतिको दख्खिन ढोका घचघच्यायो। पशुपतिले यसो हेरेका मात्र के थिए, जुरो हल्लाउँदै प्रतिनिधिमण्डलको नेताले नम्रतासाथ भन्यो – “तपाईं पशुका पति भएर पनि हामी पशुहरुमाथि कनुनै वास्ता गरिदिनुभएन। तपाईंले पुलपुल्याइदिंदा आज मान्छेले गर्नुसम्म गरिसक्यो। रिसानी माफ हुन्छ भने हामी समस्त पशुहरुको एउटै आवाज छ – मान्छे मात्तियो, मात्तियो तर पशु बिचरो आत्तियो।”

यो मोरो पशुको जात, जहिले पनि रङ्ग न ढङ्गको कचकच गर्न आउँछ भन्ने ठानी पशुपतिले झर्किएर सोधे – “आखिर तिमीहरुको समस्या के हो?”

साँढेले भन्यो – “हामी फाँटको फाँट मडिया मार्ने साँढेजातिलाई कान्जीहाउसभित्र थुनेर दुई मुठा परालमा बाँच भन्छ- आजको स्वतन्त्रताप्रिय भनाउँदो मान्छे।” साँढेको कुरामा संशोधन थप्तै गोरुले भन्यो – “होइन हजुर! वास्तविक मर्कामा परेको पशु त अझ म

पो छु। जमिन जोत्नेको हुन्छ भनी नारा लाग्दछ तर जमिनको खास जोताहा मलाई मुखमा पेरङ्गो बाँधिदिन्छ – आजको समाजवादी मान्छे।” साँढे र गोरु आँखा पल्टाउँदै थिए, वानर उफ्रेर पशुपतिका अगाडि पुग्यो। उसले अर्जी गर्यो – “हामी विश्वका समस्त वानरजाति घरबारहीन छौं, तर हाम्रो यो समस्या हेरिदिंदैन- आजको विश्वबन्धुत्ववादी मान्छे।” यत्तिकैमा गैंडा र ग्राहको संयुक्त डाँको सुनियो – “हामीलाई जङ्गल र जलमा पनि चुपचाप बाँच्न दिंदैन – आजको शान्तिवादी मान्छे।”

ओहो! सुन्दासुन्दा पशुपतिको कानै टट्टायो। उनले च्याँट्ठिएर भने – “यो सब तिमिहरुका बकबास हुन्। मान्छेमाथि मेरो पूरापूरा पत्यार छ। ऊ कहिल्यै पशुझैं मात्तिदैन, ऊ उत्ताउल्याइँ जान्दैन।” पशुपतिको कुरा काट्तै पशुराज सिंहले भन्यो – “होइन हजुर! हामीसित चोखो बल छ, तर मान्छेसित बिटुलो बुद्दि छ, बुद्दिभित्र छल छ। त्यसैले मान्छे भस्मासुर भैसक्यो, आज ऊ आफूबाहेक कसैलाई पनि गन्दैन, स्वयं पशुपतिलाई पनि पशुले मात्र पत्याउने पाषाण पो ठान्छ।”

पशुपतिजीले पशुहरुका कुरा सुनी दिक्क भएर सोधे – “त भन न आखिर तिमीहरु के चाहन्छौ?” साखुल्ले भएर अघि सर्दै ब्वाँसोले भन्यो -”अरु हामी केही चाहँदैनौं हजुर! यो मान्छेको जातलाई हाम्रो जिम्मा लगाइदिनुपर्यो। यिनिहरुले तपाईंको टाउको खान लागिसके।” “व्यर्थै केको फिक्री? मात्तिएको मान्छेलाई हात्तीले तह लगाउँछ।” दाह्रावाल हात्ती कड्क्यो। तर पशुपतिको चित्त बुझेन। उनले भने – “मैले कत्रो दु:ख गरी पाले-पोसेका, सिकाए-सधाएका मान्छे अब म पशुको जिम्मा दिऊँ? स्पुतनिक युगबाट फेरि जङ्गली युग फर्काऊँ? – यो हुन सक्तैन। पशूभन्दा मान्छे कहिल्यै नजाती हुँदैन।” बुढी गाईले नम्रतासाथ भनिन् – “हो हजुर! मान्छेलाई अब तहमा राख्ने हो भने यसको जिम्मा पशूलाई दिनुपर्छ। मान्छेसित केवल आसक्ति बाँकी छ, शक्ति छैन, आक्रोश बाँकी छ, प्रेम छैन। आशङका बाँकी छ, विश्वास छैन।” गाईको पनि यस्तो कुरा सुन्दा पशुपतिको मनमा अलिकति चिसो पस्यो। पशुपतिले गम्भीरताकासाथ सोधे – “आखिर तिमीहरुसित यसको प्रमाण के छ त? प्रमाणबिना अर्कालाई दोष लाउन पाइँदैन – बुझ्यौ?”

मुखामुख गर्दै पशुको प्रतिनिधिमण्डल चुप लाग्यो। अन्त्यमा बिदाइको सलाम गर्दै गधाले भन्यो – “प्रमाण एक मात्र होइन, हामी
हजारौं लिएर आऔंला।” बाहिर आएर पशुहरु मान्छेको करतुत सबुद खोज्न थाले। कोही पुस्तकालयतिर गए त कोही वाचनालयतिर, कोही वेधशालातिर गए त कोही सैन्यशालातिर।

———————

एक दिन पशुपतिको प्राङगणमा पशुहरुको कचहरी थियो। स्पष्टीकरण दिन मान्छेको प्रतिनिधि पनि उपस्थित थियो। सयौं हात्तीहरुले रासका रास पुस्तकहरु पशुपतिका अगाडि राख्तै भने – “मान्छेका दिमागको एउटा करतुत यही हो, जसको कारण आजको मान्छे बौलाएको छ।” पशुपतिले एउटा पुस्तक पल्टाएर सर्र पढे, पुस्तकमा कसरी अरुलाई उछिनेर आफू अघि बढने, कसरी मान्छे फकाउने, कसरी छकाउने र कसरी बहकाउने इत्यादि कुरा थियो। पशुपतिले आँखा अलि तरेर नजिकै बसिरहेको मान्छेलाई सोधे- “यो क्या हो?” मान्छेले फुर्तीसाथ जबाफ दियो- “यो पुस्तक हो- राजनीतिको पुस्तक।” पशुपतिले अर्को पुस्तक पल्टाएर, त्यसमा कसरी सम्पत्ति कसरी धेरै कमाउने, कसरी बचाउने इत्यादि कुरा थिए। मान्छेले बतायो- “यो अर्थशास्त्र।” पशुपति पुस्तक टिप्तै गए, मान्छे भन्दै गयो- “यो व्यापारशास्त्र, यो आधुनिक दर्शन नित्सेको, यो मनोविज्ञान फ्रायडको, यो डार्बिनको थ्योरी, यो योगवशिष्ठ, यो धम्मपद, यो बाइबिल, यो इजरा पौण्डको कविता, यो क्यामुको कथा, यो …” पशुपतिले जिभ्रो काट्तै भने- “यी सब किन? किन यी सब? पशू ठिकै भन्छन- बुझिस् मान्छे! तँ बौलाहा भइछस्, धेरै मात्रामा बौलाहा बहुलाइसकिछस्। अब लैजा यी सारा कसिङगर। ए वानर हो! च्यातिदियो यी सारा थाङ्नाहरु।” मान्छे जिल्ल पर्यो। युगानुयुगदेखि उसले गर्दै आएको चिन्तन, मनन, मन्थन, आविष्कारको सम्पूर्ण राशि पुस्तकप्रति पशुपतिको यत्रो कुदृष्टि। आखिर पशुपति पशुकै पति रहेछन- तिनलाई मान्छेको दिमाग कति गहिरो र व्यापक छ – के थाहा?”

यत्तिकैमा एक बथान कुकुर, बिराला र मुसाहरुले अखबारको ठेली पशुपतिको समक्ष थुप्र्याए- ‘साम्राज्यवादी अमेरिकाले भयतनामलाई ध्वस्त पार्यो’- पशुपतिले अखबार एक-एक गरी पल्टाउँदै गए- ‘विस्तारवादी चीनले भियतनाममा खुट्टो घुमायो’, मङगलग्रहको तस्बिर खिचियो’, ‘अल्जेरियामा सैनिक विद्रोह’, ‘रुसको नयाँ राकेट, जोन्सन र दगालको भनाभन’, ‘जनकपुर चुरोट कारखानाको प्रगति’, ‘कलकत्तामा लाठीचार्ज’, ‘बर्लिनमा गोली हानाहान’, … “यी सब के हुन्?” रातो मुख लगाउँदै पशुपतिले सोधे। “यी अखबार हुन् हजुर! दिनदिनका समाचार, विचार छापिने अखबार।” पशुपति- “के यिनमा सब सत्यसत्य छापनिन्छन्?” “सत्य त सत्यै हुन्, तर आजको मान्छेको अगाडि सत्य गणितजस्तो छैन। देशदेशका आफ्ना सत्य, दलदलमा आफ्ना सत्य…।” मान्छेले व्याख्या गर्यो, पशुपति रन्किए। अखबारहरुलाई धुजाधुजा पारेर पशुपतिले भने – “बिग्रेछौ मान्छेहो! तिमीहरु पक्का बिग्रेछौ।”

“अँ, यो के हो नि?”- बाधबालुहरुले सकीनसकी बोकेर ल्याएका हातहतियारलाई नियाल्दै पशुपतिले सोधे। चितुवाले भन्यो- “हामीलाई हिंस्रक जन्तु भनेर हेलाँ गर्ने मान्छेले मान्छेमाथि नै प्रहार गर्न बनाएको यो बन्दुक, यो तोप, यो क्षेप्यास्तर, यो एटम बम…।” “धिक्कार!!!” पशुपतिले लामो सुस्केरा हाल्दै मान्छेलाई धिक्कारे। सारा पशुहरुले कुनैले खुट्टा बजारेर, कुनै सिङ् तिखारेर र कसैले जुरो हल्लाएर भने- “कसो भो!!” मान्छेले अँध्यारो मुख लाएर स्पष्टीकरण दियो- “यी सब संहारको निम्ति होइन, सुरक्षाको निम्ति हामीले निर्माण गरेको हौं, शक्तिसन्तुलनको लागि बनाएका छौं…।”

“गर्यौ सुरक्षा!” भनेर अझ रन्कँदै पशुपतिले पशूहरुपट्टि फर्केर भनेर- “लैजाओ, अब मलाई वास्ता छैन- यी मान्छेहरुको बुद्दि र बठ्याइँ पाएँ भन्दैमा मात्तिने र पात्तिने यी उत्ताउलाहरुलाई अब तिमीहरु नै जेर गर्छौ गर।” यति भनेर पशुपतिले मान्छेलाई फेरि भने- “जा, तँ पशुको पछि लाग्- अब मलाई कसैको वास्ता छैन, म समाधिमा पसें।”

“हाम्रो समाजमा त यसलाई ल्याउन हुन्न, यसले भित्रभित्र बम बनायो भने…।”

“हो हो ल्याउन हुन्न, यसको पशुका छाउराछाउरीलाई पुस्तक पत्रिका पढ्न सिकाएर बिगारिदियो भने…।”

केही पशुहरु कराए। तर लुरुक्क परेर मानिसले आफ्नो बचेखुचेको मौलिकता पोली पशुका समक्ष आत्मसमर्पण गर्यो।









                                                लाहुरेको यात्रासंस्मरण
एक त आफ्नो जातै वीर, दोस्रो वीरबाहादुरको झनाति, तेस्रो नामै मेरो वीरबल  पाँडे – अब म कत्रो वीर हुँला भन्नै पर्दैन ! त्यसमाथि पनि नेपालको नाइटैबाट जन्मेको कान्तिपुरेकाजी भनेपछि त कुरै खलास । त्यसैले त, वीरधाराको कलकल जल वीरगन्जे ताप्केमा उमालेर सुर्क्याइदिएपछि कहिलेकाहीँ भोजन र सोजन, मेरो भोक त स्वयं भकुरिएर भागिहाल्छ । आखिर भुँडी भर्नुसम्मै त हो, बल र तागत भन्ने वस्तु त बाबुबाजेको नामैदेखि टाँसिएर आएको छँदै छ नि ! 
 
कत्राकत्रा युद्दमहायुद्दमा वीरता देखाउन सक्नेको सन्तानएक बटुको खोले पियोस् वा हाफ प्लेट छोलेको भरमा जिओस्यति मामुली कुरामा केको खोजीनिती ? अझै मेरो वीरतामाथि विश्वास छैन भने हेर्न आउनुहोला,बाजेले बर्माको लडाइँमा वीरगति प्राप्त गरी कमाएको वीरचक्र अहिलेसम्म चूलोमाथिको दलिनमा घुसारेको छँदै छ ।

त्यसैले त होरोग लागेको बेलामा पनि सौभाग्य मिले वीर अस्पतालै पुग्न पाइन्छ जहाँ औषधिले रङ्गाएको उही वीरधाराको निर्मल जल कैयौँ वीरहरुले प्रत्यक दिन सितैमा सुर्क्याउन पाउँछन्जसमध्ये म पनि एक हुँ । तर मेरा कुनैकुनै साथी यस्ता निर्दोष छन्वीरको अस्पताल पुग्न छाडेर रोगाएको एक महिना नहुँदै डाक्टर-पूजा गर्न थाल्छन् । यो कुरा मलाई पटक्कै मन पर्दैन र म भन्छु- नामर्दको ओखती पो नमर्दै हुन्छ त,मर्दको ओखती मर्दा भोलिपल्टसम्म गरे हुन्छ बाबै! कतिपय साहित्यकार,कलाकार आदिले समेत अबलम्बन् गरेको यो सिद्दान्त आफूले छाड्ने कसरीआखिर बेकार भए पनि म एउटा कार हुँ,लुरे भए पनि वीर जातिको आकार हुँ ।

आजको आर्थिक युगमाआर्थिकै दृष्टिले हेर्ने हो भने पनि मेरो सिद्दान्त रामबाण जस्तो छ । मर्दको दसोटी हुँन्छन्’ भन्ने हाम्रो लौकिक आदर्शमुताबिक एउटा भालेलाई दसोटीसम्म पोथि गुटमुटयाउने  लाइसेन्स समाजले दिएकै छ । यो विख्यात मर्दताको फलस्वरुप चूहलैपिच्छे खोलिएका पुत्रपुत्री प्रोडक्सन बहुपत्नी लिमिटेड’ का शाखाहरुबाट धडाधड उत्पादन हुने साराका साराले भोक लाग्नेबित्तिकै खान र रोग लाग्नेबित्तिकै उपचार गराउन थाले भने भोलिदेखि आकाशतिर फर्केर फूलौरा बर्सलान् कि भनि आँऽऽ मुख बाउन नपर्ला भन्ने के ग्यारेनटीवीर भएकोले इलमउधोगको पीर गर्नापट्टि लागिएन तकि दाउरे बन,कि लाहुरे बनकै जम्बामर्दी संस्कारमा हुर्कियो अहिलेसम्म! अनि भन्नोस् मैले झैँ रोग,भोकलाई स्वातन्त्र्य नदिने हो भने आखिर पोखरा-भर्ती केन्द्रजस्तै लमजुङ-भर्ती केन्द्रसमेत खोल्नुपर्‍यो भने ! 

लौ, म कुरो गर्न लागेको त सोझै होतर अतिथि इन्जिनियरहरुले बनाइदिएको बाटाघाटाको नक्साझैँ दसतिर टेढिएर लम्किन गएकोमा माफ राख्नुहोला । मुख्य कुरो के भनेयत्रो वीर भएर पनि अहिलेसम्म गोडामा एक जोर लाहुरे जुर्राफ पर्न सकेको छैन । हुन त नामको लागि एउटा काम गर्नुभन्दा नामको लागि सत्रोटालाई सलाम गर्नु आजको सभ्यता हो,तर एक बारको चोलामा झोला बोकेर लाहुरै नगई के मर्नु जस्तो लागेर आयो । तन्नेरीमा लाहुर नपस्ने र बुढयाइँमा काशी नबस्ने नेपाली गति पर्दैन भन्छन् । हुन पनि वीरको छाउरो भएपछि फ्याउरोझैँ के आफ्नै घरका लुते धन्धामा लाग्नु त ।

, कुरो त फेरि मन्त्रीज्यूको भाषणझैँ उही पो दोहोरियो । आखिर जति भूमिका भट्टयाए पनि म जान लागेको थिएँ लाहुरत्यसैले इस्टकोटको टाँक लगाएर खुकुरीवाल टोपी छड्के पारेँअलिअलि सामलतुमलको झोला भिरेँ,हिँडे । तपाईलाई के ढाँटौँ कुरा ! जति ढाँट्ने साहूलाई नै ढाँटी गोजीमा जमाएको थिएँ- गोडा सोरेक रुपियाँ । त्यहि पनि साट्सुट गर्दा ठयाम्मै भयो दसको नोट । पैसा मात्रै भनेर हुन्छदेशी पैसाहामीकहाँबाट मसिना चामल झिकाउने पैसा, हाम्रो पैसा उताबाट उसिना चामल बेसाउने पैसा ?जे होस्आफूलाई चाहिएको थियो नयाँ ठाउँमा जान नयाँ पैसा । आखिर पुग्नुसम्मलाई त होलाहुर पुग्नेबितिकै त वीर नेपाली आएको भनेपछि नोटको माला लिएर स्वागत गरिहाल्छन् । त्यसैले आनेकाने कुरा नहेरी कालधाराबाट म लुसुक्क निस्केर पुगिहालेँ सुनधारा । 

ओहो! वीरबलबाबू कता नि ?” बसमा उक्लनेबित्तिकै सुनियो एउटा बूढी-स्वर । यसो हेर्छु त आफ्नै भक्तिनी बज्यै । दुई तिनोटी तरुनीको माझमा बसेर रामनामी टाउकोमा राखेर रुद्रा घुमाइरहेकी । म त लाहुरतिरआमै कता नि ?” 

मैले सोधि नसक्तै बूढी थोते मुख नचाउँदै भन्न थालिन्- कहाँ हुन्थ्योउनै विश्वनाथ बाबाको पाउमा त हो नि यी नानिहरुले पनि कहा साहै सास्ती पाएछन्, सबै अनाथको बाबा विश्वनाथ भनेर उतै लिएर हिँडेकी । एउटीलाई सासूले नसहेर छुट्टी,  अर्कीको पोइ लाहुर... ।” बूढी परी लाउँदै थिइन्,  बीचैबाट अर्का एउटा भलादमीले प्वाक्क भन्यो- कूरो राम्रोविश्वनाथ बाबालाई सधैँ भेटी मात्र कति चढाउनु तकहिलेकाहीँ केटी पनि चढाइदिनै पर्छ । यसबाट एकतिर चेलिबेटीको उद्दार हुन्छअर्कोतिर आफ्नो दालरोटीको समस्यै टर्छ ।” भलादमीले यो कस्तो कुरा गरेका हुन्म त लक्क न बक्क भै जिल्लिँदै थिएँबूढी आमै भने जिस्क्याइएको जँडयाहाझैँ पाखूरा खैँचेर सराप्न थालिन्- तीर्थ जान लागेका मेरा छोरीबेटीसँग आँखा जुधाउने तँ लुठलाई पख्लास् !” वास्तवमा त्यो बिचरो भलादमीले आँखा जुधाएकै थिएन है,  नभएको कुरा भन्नु पाप लाग्छ,तर बूढी किनकिन त्यसै रन्किन् र मसित भन्न थालिन्- हेर्नोस् न बाबू,  के मैले यी  केटीहरुलाई भागीरथीमा बगाइदिउँला त ?” भलादमीले भने – “भागीरथीमा बगाए त केही थिएनमाझीले उतार्थ्योतर चचार पाथि चनामा मोलाउली भन्ने पो डर त ।” यो औडेखौडे कुरा के होमैले भने आधुनिक साहित्यजस्तै सबै बुझेर पनि केहि बुझ्न सकिनँ ।

असार-साउनको माटोबाइरोडको बाटो ।’ ड्राइभर रमले रन्नट्रक यात्रुले टन्न । अब चाहियो के र एकछिन त थचाराथचार धक्कमधक्काले निकै स्वाद चखाएको थियोतर जतिजति ट्रक उँभोउँभो लाग्दै गयोउतिउति आफ्नो हंस भने उँधोउँधो हुँदै गयो । तैपनि वीरको यात्रा वीरताकै माफिक हुन्छ भन्दै बूढीका चेलीबेटीलाई म आश्वासन दिँदै थिएँ- तीर्थ जानेलाई केको डर बाँचे वाराणसीमरे अमरावती । तरनढाँटीकन भनूँ भने आफूलाई चाहिँ सन्देहै थियो । बाँचे त म लाहुर पुग्छुपुग्छु मरे कहाँ पुग्छुस्वर्ग कि नरक स्वर्गै पुग्न त अमरावती इन्स्योरेन्सन कम्पनीका एजेन्ट-बाजेहरुलाई खीर खुवाएकै छैन । जे होस्, वीरजातिको सन्तान भएकोले बाबुबाजेले कमाइदिएको नामकै भरमा चित्रगुप्तले कमसेकम सेकेन्ड क्लास सिट त कसो नदेलान् ! 

म आफ्नै सोचाइमा एकसुर थिँएपछाडिबाट कोट्टयाउँदै एक जना साहूजीले भने... तपाईं लाहुर जाने भए त्यतातिर रायोको सागको माग विचार गर्नुहोला है ! नभए एजेन्ट बनेर प्रचार गरे कमिसन पनि दिउँला । मेरो व्यापार चानचुने छैन बुझ्नुभोयसपालि मात्रै पाँच हजारको साग निकासी भयो ।” आफ्नो मूल राष्ट्रिय तरकारी पनि विदेश निकासी गर्ने साहुको कुरा सुन्दा मरो भने सार्है चित्त दुख्यो र भनिहाले – “बिहानबेलुका अरु थोक केही नपाए पनि डुकुको झोलसित ढिँडो पुकुपुकु निल्न सकिन्थ्योत्यही डुकु पनि निकासी गरिदिएपछि त तरकारी मात्रै होइनभोलिदेखि तिहुनकै समस्या त पर्दैन ?” साहूले बीचमै कुरा काट्तै भने- तिहुनको समस्या झन् टर्छ । गहिरिएर हेर्नोस् तयताबाट सागका मुठा पठायोउताबाट सब्जीको डिब्बा झिकायो । मीठोको ठाउँमा मीठोछिटोको ठाउँमा छिटोकुरा बुझ्नुभएन यस्तै हुन्छ चतुरहरुको व्यापार !” साहूको कुरा मलाई मनासिबै लाग्यो । आजको जमानामा पनि उहाँको झिलिमिली रेडिमेडसब्जी’ खान छाडेर टुकुचामा पखालेको डुकुचा को केलाइरहोस् । सरकारी काममा होस् कि तरकारी खानमा होस्सबैतिर छिटोछरितोपनको आवश्यकता छ आजआधुनिक सभ्यता भनेकै यही न हो ! 

साहूजीसित कुरा गर्दागर्दै आफू त सातघुम्तीमा हाराबारा तोरी गर्दै घुम्न पुगिसकिएछ । भक्तिनी बुढिया रामराम भन्दै थिइन्तर ड्राइभर हराम परेकोले ट्रक झन्झन् वेगसित घुम्न थाल्यो । घच्चाघच्ची गर्दागर्दै लागेछ क्यार चौधरीज्यूलाई ! कालोकालो अनुहारलाई रिसले झन् कालो पार्दै झपारिहाले- पहाडिया लोग मूर्ख होते हैं । सडक बनवा दी है हम लोगों ने,घच्चा देते हैं हमें ही । जरा सन्मान के कायदे सीखो ।” आफूले त पक्की भाषा जानेको भए पो बुझ्नु ! पक्की बात गर्न पनि कि लाहुर हुनुपर्छ कि जोगी हुनुपर्छ यहाँ । तैपनि शिष्टतापूर्वक चौधरीज्युलाई भनेँ- बाटोमा कहिलेकाहीँ घच्चा लाग्छ हजुर ! नरिसाउनोस् ।” चितुवाका जस्ता आँखा एक पटक तरेर उनकी श्रीमतिले भनिन्- आइन्दा ऐसा मत करनाकहाँ जा रहे हो हमारे यहाँ नौकर बैठेगा ?” यो कुराले भने मलाई यस्तरी रनक छुटायो कि फट्कारेर भनिदिएँ- म त लाहुर पस्न लागेको पो त,तिमीकहाँ नोकर बस्छु ?” “बैठोगे तो तुम्हें हम दरबान भी बना देंगे” भनी चौधरनी भाउजू आँखा नचाउँदै थिइन्म फरक्क फर्केर पुगेँ अर्कै छेउमा । 

प्राणवायु अपानवायु दुवै समान भएकाले ट्रकभित्र सास फेर्न पनि मुस्किल परिरहेको थियो । घुइँचोले कुन कसको सीट हो,कोको कहाँनिर छन् पत्तै भएनमानौँ संसार-सागर त्यहीँ थियो । त्यसैले मलाई लागिरहेको थियो- लाहुरबाट फर्किंदा त म यो भद्रगोलमा के बस्थेँत्यति बेला आफूसित रुपियाँको ब्याग हुन्छ, स्वास्नीलाई ल्याइदिएका लुगागहना हुन्छन्- केके हुन्छन् केके ! सम्झेर के साध्य ! देश भनेको देशै होधन हुने बाबूसाहेबहरुको राख्न जाने ठाँउ पनि उहीँनहुनेहरुको कमाउन जाने ठाँउ पनि उहीँ । दाजुभाइसित झगडा परे झिटीझाम्टा जिम्मा दिने पनि उतै,बाबुआमाले गाली गरे पाखुरा खैँचन पाइने पनि उतैबाट । कस्तो विचित्र ठाउँ होला त त्यो ! 

मैले गम्दागम्दै ट्रक त पुगिसकेछ रक्सोल । उत्रनेबित्तिकै विभिन्न थरी उर्दीपोसाक लाएकाहरुले बाबूजीइधरउधर” भन्दै मलाई छोपिहाले । वीर नेपाली भनेपछि स्वागतार्थी पनि कतिकति आएका ए ! मैले नेप्टै  पनि आफ्नो नाक फर्सीजस्तो पारी फुलाएँ । तर फसादचाहिँ के पर्‍यो भने सबैले तानेपछि जाने कतातिर ससुराली भिन्न भएको साल सोह्रासरादको श्राद्धमा गएको जुवाइँलाई जस्तो अप्ठयारो पर्‍यो आफूलाई त । क्याहो ए वीरबल भान्जा ! तिमी पनि यहाँ ?” त्यहीँ नजिकबाट आफ्ना मामाको स्वरले मलाई झसङ्ग पारिदियो । ओहोमामा तिमी पनि यहाँ ?”मामालाई झम्टँदै मैले पनि सोधिहालेँ- उता लाहुर गएको भन्थे- यहीँ हो कि क्या हो लाहुर ?” मलाई आफूले तानिरहेको रिक्सामा बस्ने अनुरोध गर्दै मामाले भने- तिमी अलि सोझा छौ भान्जा ! नेपालीको निम्ति डाँडो काटयो कि लाहुर ! तिमी कता नि ?” मैले चकित भावमा जबाफ दिएँ- म पनि लाहुरतिर लागेको !” “लाहुर त लाहुरतिमी साँच्चीकै लाहुर पुग्न आँटेछौ, पोकोपन्तरो खोइ ?” यताउति हेरेर झपार्दै मामाले भने । नभन्दै पोकोपन्तरो त अर्कै स्वागतार्थीले अघि नै लगिसकेछ- अब कहाँ कसलाई समाउन जाने त लौ ! 

फ्याकिदेऊ त्यो टोपीसोपीयता टोपीको दर्शन पाएपछि पोको मात्रै होइन पोकोवालालाई बोकोझैँ घिच्च्याएर बेचिदिन बेर छैन बाबै !” मामाको यो व्याख्यान मैले केही पनि बुझिनँ  । तैपनि टोपी फुकालेर रिक्सामा बसेँ । मामा सोध्दै गए- अब के गर्छौ त रिक्सै चलाउँछौ भनेमामाभानिजको कामकुरो मिलिहाल्यो । होइनम त नोकरी नै गर्छु भन्छै भने कुनै होटेलमा बेरा खाली छ कि बुझ्नुपर्ला । मामाको यस प्रश्नले मलाई छक्क पार्‍यो र सोधेँ- के साँच्चै लाहुर यही हो मामा ?” मामाले मुस्कुराउँदै जबाफ दिए- भनिहालेँ निहाम्रो निम्ति डाँडो काटयो कि सबतिर लाहुर  । रक्सोलमा रिक्सा चलाऊ वा दरभङ्गामा दरबानी गर, मलायामा बुट ठोक कि मणिकर्णिकामा मुर्दा बोकघर गएपछि कमसेकम पाइजामा नफाटुन्जेल तिमी लाहुरे भइहाल्छौ ।” मामाका यी मार्मिक कुराले म त छानाबाट खसेजस्तै भइहालेँनिधारमा चिटचिट पसिना आयोनाक-मुख खङ्ग्रङ्ग सुकेर रिक्सैमा घोप्टो परौँला भन्ने डर लाग्न थाल्यो । के यही हो त लाहुर- हजारौँ नेपालीले आउने गरेको लाहुर वीरजातिले पुरुषार्थ देखाउने लाहुर ?” मैले अतासिँदै सोधेँ आफ्ना लाहुरे मामासँग । मामाले च्याँठिएर जबाफ दिए- के तिम्रो हाम्रो वीरता खलङ्गामा लड्ने नेपालीको वीरता हो रत्यसो भए त तिमीलाई देशको माया हुन्थ्योउतै घोट्टिन्थ्यौउतै बाँच्थ्यौ । तर तिम्रो वीरतात्यो गुर्खा’ को वीरताजसले देशमा एउटा काम गर्नुभन्दा विदेशमा सत्रोटालाई सलाम गर्नुलाई पुरुषार्थ ठान्योआफ्नो पसिना दिनुभन्दा अरुको निम्ति रगत दिन जान्यो । तिमी त्यो कँवरकुलको कमानमा दीक्षित नेपाली जसले तन्नेरीको तनतरुनीको मन सबको दरभाउ बसायोधन कमायोकैयौँ ब्याङ्क जमायो । कुरो बुझ्यौ?”तर सत्यसत्य मैले कुरो बुझिनँ । मैले मामाको कुरा बुझिनँ । तर मनको भित्री भागमा चाहिँ के लाग्यो भने-घरबाट ल्यएको पोकोपन्तरो मात्रै नहराएको भए पनि म ठाडै खुट्टाले फर्कन्थेँ घर । तरअब परियो यता आफू अलपत्रजहान उता अलपत्रजो भएको झिटीझाम्टा पर्न गयो साहूको सत्र ! जे होस्हामी वीरको साथै उदार पनि त हौँदुइ-चार जना हामीजस्ता स्वदेशीहरु हराएर के भोकैयौँ देशी’ हरु नक्कली मयूरझैँ भित्रिँदै पनि त छन् के नि ! तर जति सम्झाए पनि मनचाहिँ बिग्य्रोबिग्य्रोलाहुर बस्नै मानेन र फर्केँ घरैतिर । त्यसैलेहेर्नोस्कहाँ लाहुरे बन्न गएको मान्छे अहिलेसम्म दाउरे बनेर झ्याउरे गाउँदै छु ।

1 comment:

  1. तपाईं आफ्नो मृगौला बेच्न चाहनुहुन्छ? तपाईं मौका लागि खोजिरहेका छन्
    तल कारण वित्तीय ब्रेक पैसा को लागि आफ्नो मृगौला बेच्न र तपाईं छैन
    के थाहा, त्यसपछि आज हामीलाई सम्पर्क र हामी तपाईंलाई राम्रो प्रस्ताव हुनेछ
    आफ्नो Kidney.My नाम लागि रकम छ (ड कोलिन्स) मा एक Phrenologist छु
    सेन्ट एन्ड्रयू अस्पताल। हाम्रो अस्पताल Kidney सर्जरी मा विशेष छ र
    हामी पनि जीवित संग अन्तस्करणले को खरीद र transplantation सामना
    एक संगत दाता। तपाईं बिक्री वा खरिद रुचि हो भने
    मृगौला गरेको कृपया हामीलाई मार्फत सम्पर्क गर्न नहिचकिचाउनुहोस्
    इमेल: doctorcollins3@gmail.com वा WhatsApp लाइन मा जोडने ... + 2348108439977
    धन्यवाद,
    व्यवस्थापन।

    ReplyDelete